मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८.४४ प्रतिशतले बढेर २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ भने इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । यसले पनि नाफा बढ्न टेवा दिएको हो ।
खुद ब्याज आम्दानी ७३.९३ प्रतिशत र सञ्चालन नाफा २३.८९ प्रतिशतले बढेको छ । वितरणयोग्य नाफा भने १ अर्ब ६० करोड रुपैयाँ ऋणात्मक छ ।
मर्जरपछि बैंकको चुक्ता पुँजी ८६.४२ प्रतिशतले बढेर ३४ अर्ब १२ करोड ८२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी बढेको आधारमा बैंकको नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी केही दबाबमा परेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १३ पैसले घटेर १५ रुपैयाँ ६१ पैसामा आएको छ । इम्पेयरमेन्ट चार्ज ६० करोड ८३ लाख रुपैयाँ रिभर्स भएको छ ।
१२ माघ २०७९, बिहीवार ०८:१७ बजे प्रकाशित