एनआईसी एसिया बैंकको सिइओमा न्यौपानेको पुननियुक्ति
बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको गत २०७९ कात्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुननियुक्ति गरेको छ ।
हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले २०७९ मंसिर १५ गतेदेखि नै लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको जनाएको छ ।
सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका रोशन कुमार न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।
सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि न्यौपाने मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भएका छन ।
रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ (भंगाल) बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका छन ।
न्यौपानेले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको दावी बैंकले गर्दै आएको छ ।
सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनको नेतृत्वमा बैंकलाई मध्यम स्तरको बैंकबाट उच्च स्थानको बैंकमा पुर्याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आ.व. सन् २०१९/२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको बैंकको दावी रहेको छ ।
न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको सो बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंकका अनुसार, चालू आ.व. २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व(पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ ।
चालू आ।व।को पहिलो त्रैमासमा खुद मुनाफातर्फ रू. १.७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ ।
जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि गरेको छ । त्यसैगरी स्व(पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रति शेयर आम्दानी रू. ५९.आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको दावी पनि बैंकले गरेको छ ।
चालू आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कूल कर्जा रकम रू।२७३।१० अर्ब र निक्षेप तर्फ कुल निक्षेप संकलन रू. ३०८.१८ अर्ब पुर्याउन सफल भएको बताइएको छ ।






















