एभरेष्ट बैंकको अग्राधिकार सेयर अब पूर्णरुपमा साधारण सेयरमा परिणत हुने
काठमाडौं । एभरेष्ट बैंकको ७५ अग्राधिकार (प्रिफरेन्स) सेयर अब पूर्णरुपमा साधारण सेयरमा परिणत हुने भएको छ ।
बैंकले हरेक ३–३ वर्षमा २० प्रतिशत का दरले अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधान अनुरुप पाँचौं तथा अन्तिम पटक असोज ६ गते परिणत हुने जानकारी गराएको छ ।
तसर्थ, उक्त अग्राधिकार सेयर असोज ६ गतेसम्म कारोबार हुने र त्यासपछि सूचीकरण खारेज गरिने बैंकले जनाएको छ ।
यता, बैंकले भौतिक रुपमा रहेको अग्राधिकार सेयर डिम्याट गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । जसका लागि उपत्यका भित्रका सेयरधनीले एभरेष्टको मुख्य कार्यालय, लाजिम्पाट काठमाडौं र उपत्यका बाहिरका सेयरधनीहरुले पायक पर्ने शाखामा अग्राधिकार सेयरको सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुपर्नेछ ।
हालसम्म अग्राधिकार सेयरबाट प्राप्त नगद लाभांश नलिएका सेयरधनीहरुले बैंकको सेयर शाखामार्फत लिन सक्ने पनि एभरेष्टले जनाकारी गराएको छ ।
























