नेपाल राष्ट्र बैंकले रु १५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने
राष्ट्र बैंकले ऋणपत्र पाँच वर्ष अवधिका लागि ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ऋणपत्र पाँच वर्ष अवधिका लागि ऋणपत्र जारी गर्ने जनाएको छ ।
बोलकबोल मार्फत् बिक्री हुन लागेको ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
उक्त ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोको रूपमा पनि प्रयोग गर्न सकिन्छ । कुल रकमको ८५ प्रतिशत (रु. १२ अर्ब ७५ करोड ) बराबरका ऋणपत्र प्रतिस्पर्धी बोलपत्र मार्फत खरिदका लागि उपलब्ध हुनेछन् ।
बाँकी १५ प्रतिशत (रु. २ अर्ब २५ करोड) बराबरका ऋणपत्र गैर)प्रतिस्पर्धी बोलपत्रमा उपलब्ध हुनेछन्।
खरिदकर्ताले न्यूनतम रु. ५०,००० को ऋणपत्र खरिद गर्न सक्नेछन् । अधिकतम ऋणपत्रलाई रु. ५०,००० ले भाग गर्दा प्राप्त हुने सम्पूर्ण सङ्ख्या बराबरको खरिद गर्न सक्नेछन्।
ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड मार्फत हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
७ असार २०७९, मंगलवार ०८:५४ बजे प्रकाशित