राजस्व अनुसन्धान विभागमा झलकराज
काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव झलकराज अधिकारीलाई सरूवा गरि पठाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभागको महानिर्देशक रहेका प्रकाश पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानेर त्यहाँ झलकराज अधिकारीलाई पठाइएको हो ।
अधिकारी झण्डै पाँच महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा राखिएका थिए । केही साता अघिमात्र उनलाई सामान्यको जगेडाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको थियो ।
अधिकारी यसअघि सहकारी विभागको रजिष्टार समेत रहेर काम गरिसकेका कर्मचारी हुन । यसका अलवा यस अघि ठूला करदाता कार्यालय,आन्तरिक राजस्व कार्यालय काठमाडौं १ मा मुख्य कर अधिकृत पदमा रुपमा रहेर समेत काम गरिसकेका उनलाई राजश्व अनुसन्धान विभागमा पठाइएको हो ।
राजश्व अनुसन्धान विभागमा ८ महिना १२ दिन काम गरेका पौडेलले लामो समयदेखि अड्किएको बहुराष्ट्रिय कम्पनी कोकको पूँजीगत लाभकरी छली मुद्धाको अनुसन्धान टुंग्याएर अदालतमा पेश गरेका थिए ।
उनकै पालामा नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबारको सञ्जालमाथि कारबाही सुरु गरिएको थियो ।
पौडेलले ८ महिना अवधिमा विभागले २१ अर्ब ७१ करोड बिगो बराबरको राजश्व छलीको मुद्दामा २ सय ८१ जना विरुद्ध मुद्दा दायर गरेको जानकारी दिएका छन ।
यस्तै विदेशी मुद्राको अपचलनतर्फ ७८ प्रतिवादीका विरुद्ध ४६ वटा मुद्दा मार्फत विभागले १ अर्ब १० करोड २१ लाख ४७ हजार रुपैंया बिगो दाबी गरेको थियो
। यस्तै भीसीटीएसमा ६६८ फर्म तथा सवारी साधन कारबाहीमा पर्दा ३ करोड ४३ लाख २६ हजार रुपैयाँ राजश्व संकलन गरेको भएको उनले बताएका छन ।
यता अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको महानिर्देशक रितेश कुमार शाक्यको पनि सरुवा गर्ने अन्तिम तयारी गरेको बताइएको छ । उनी यसअघि भैरहवा भंन्सारका प्रमुख भैसकेका छन।