बजारमा चिनीको अभाव : प्रतिकेजी १०५ रुपैयाँ
काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि भइरहेको छ । विश्व बजारमा नै खाद्य संकट आउने भनेर विभिन्न देशहरूले आफ्नो देशबाट विभिन्न प्रकारको खाद्यान्न निर्यातमा रोक लगाएको छ ।
भारतले केही समय अघि मात्रै चिनी निर्यातमा रोक लगाएको थियो । त्यसको प्रभाव नेपाली बजारमा देखिन थालेको छ ।
खुद्रा व्यापार संघका सचिव अमुलकाजी तुलाधरले बजारमा चिनीको मूल्य मनलाग्दी भएको बताएका छन । चिनी मात्रै नभएर अन्य खाद्य बस्तुको पनि मूल्य वृद्धि भएको तुलाधरले जानकारी दिएका छन ।
उनले भने– ‘पहिले नेपालका चिनी उत्पादकहरूले नै नेपालको चिनी विक्री भएन भनेर विदेशी चिनी आयातमा रोक लगाउन माग गरिरहेका थिए ।
अहिले भारतले नै चिनी निर्यात रोकेपछि नेपाली बजारमा चिनीको ठूला व्यापारीहरूले मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् ।
केही दिन अघिसम्म ९३ रुपैयाँमा विक्री भइरहेको चिनी अहिले १ सय, १०२ देखि १०५ रुपैयाँमा विक्री भइरहेको छ ।
व्यापारीले पनि आफूखुसी मूल्य राखेर चिनीको विक्री गरिरहेका छन् ।’ बजार मूल्यलाई नियमन गर्ने सरकारी संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनी नभएको मौका पारेर ठूला व्यापारीले आफूखुसी मूल्य वृद्धि गरेर १०५ रुपैयाँ पुर्याएका साना व्यापारीहरूले आरोप लगाएका छन।




























