नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गरे मर्जरको सहमतिपत्रमा हस्ताक्षर
चुक्ता पूँजी सर्वाधिक धेरै ३४ अर्ब पुग्ने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आज शुक्रवार दुबै बैंकले एकआपसमा गाभ्न गाभिनका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
हिमालयन बैंक सँगको मर्जर भाडिए सँगै नेपाल इन्भेष्टमेन्टले नयाँ जोडी खोज्ने क्रममा मेगा सँग मर्जर गर्ने निर्णय गरेको हो ।
समझदारीपत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट पृथ्वी बहादुर पाडे र मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर गरेर औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन् ।
हिमालयनसँग मर्जर भाडिए लगत्तै नेपाल इन्भेष्टमेन्टले मेगा बैंक सँग छलफल अगाडि बढाएको थियो । दुबै बैंक विचमा धेरै कुराहरुमा समझदारी पछि बल्ल आज औपचारिक रुपमा कार्यक्रम भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक दुबै बाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंक हुन् । दुई बैंकको मर्जर पछि बन्ने बैंक नेपालकै सर्वाधिक ठुलो पूँजी भएको बैंक बन्नेछ ।
मर्जर पछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ बन्ने विषयमा सहमति भएको छ ।
नामका साथै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको विषयमा नि सहमति जुटेको छ । मर्जर पछि बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्टका पृथ्वी बहादुर पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा नेपाल इन्भेष्टमेन्टकै ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । मर्जर पछि बन्ने सञ्चालक समितिमा दुबै बैंकका प्रतिनिधि रहने छन् ।
हाल नेपाल इन्भेष्टमेन्टको चुक्ता पूँजी १८ अर्ब ३१ करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
मर्जर पछि चुक्ता पूँजी ३४ अर्ब ४३ करोड रुपैयाँ पुग्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेन्टको जगेडा कोषमा १४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ भने मेगाको ५ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । मर्जर पूँजी जगेडा कोषमा २० अर्ब नाघ्नेछ ।

कर्जा लगानी तर्फ इन्भेष्टमेन्टको एक अर्ब ७३ र्ब रुपैयाँ छ भने मेगाको एक खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । साथै निक्षेप तर्फ इन्भेष्टमेन्टको एक खर्ब ८२ अर्ब रुपैयाँ छ भने मेगाको एक खर्ब ५२ अर्ब रुपैयाँ छ । यसरी पूँजी, जगेडा, कर्जा लगानी, निक्षेप संकलन लगायतका सूचकमा बैंक सबैभन्दा अगाडी देखिनेछ ।























