stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

३२ प्रतिशतले आयात बढयो, चालु खाता घाटामा !

०७८ साउन महिनादेखि २०७९ वैशाखसम्म आयात ३२ प्रतिशत बढेर १४ खर्ब ६६ अर्ब पुगेको छ ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आयात अनियन्त्रित रुपमा बढ्दा देशको समग्र अर्थतन्त्र नै डामाडोल बनेको छ । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य तरलता पुँजी बचत छैन।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत २०७८ साउन महिनादेखि २०७९ वैशाखसम्म आयात ३२ प्रतिशत बढेर १४ खर्ब ६६ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १३.१ प्रतिशतले आयात बढेको थियो । तर यश वर्ष ३२ प्रतिशत बढयो। यस वर्ष भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

सरकारले व्यापार घाटा बढेको भन्दै विभिन्न वस्तुहरुको आयातमा कडाइ गरे पनि त्यसको खासै प्रभाव देखिएको छैन । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टस्, सुन लगायतका वस्तुको आयात बढेको छ ।

रासायनिक मल, सिमेन्ट, दाल, मोलासीस सुगर लगायतका वस्तुको आयात भने घटेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरि यो अवधिमा निर्यातमा पनि ६९.४ प्रतिशतको उच्च वृद्धि देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २०.२ प्रतिशतले निर्यात बढेको थियो । यस आर्थिक वर्ष वैशाखसम्म १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको राष्ट्र बैंकको तथ्यांक रहेको छ ।

नेपालबाट भारत तथा अन्य मुलुकमा भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले बढेको छ । चीनतर्फको निर्यात भने २१.८ प्रतिशत घटेको छ । नेपालबाट पाम तेल, सोयाबिन तेल, धागो, ऊनी गलैंचा, पिना लगायत वस्तुको निर्यात बढ्दा अलैंची, चिया, तार, दन्तमञ्जन लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्यात बढे पनि व्यापार घाटा अझै बढेको छ । ९ महिनामा व्यापार घाटा २८.५ प्रतिशतले बढेर १३ खर्ब ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो ।

घटयो रेमिट्यान्स दर !

नेपाल भित्रने रेमिट्यान्समा ०।६ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले गत बुधबार जारी गरेको नयाँ तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको जनाएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्समा २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेको थियो ।

चालु खाता घाटामा !

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता यस वर्ष ४ अर्ब २८ करोडले घाटामा रहेको थियो ।

चैतसम्म पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई ७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ३५ करोड रहेको थियो ।

गत चैत महिनासम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति गत चैत महिनासम्ममा २ अर्ब २५ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

himalayan life insurance
igi long