बढ्यो महँगी, बढेन रेमिट्यान्स

काठमाडौं। पछिल्लो समय महँगी बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चैतसम्मको तथ्यांक अनुसार चैत महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.२८ प्रतिशत कायम छ।
फागुन महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत कायम थियो भने अघिल्लो महिना माघमा मुद्रास्फीति ५.९ प्रतिशतमा कायम थियो।
अघिल्लो वर्षको चैत महिनामा भने मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो। तथ्यांक अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ। समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ।
२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महीनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ।
विदेश जानेको संख्या बढ्दो, रेमिट्यान्स घट्दो
चैत महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स पनि घटेको छ। चैत महीनामा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आइ रु.७२४ अर्ब ७४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आइ ६ अर्ब ५ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ।
यो अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भइ २ लाख ५६ हजार ३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १ सय ९९.९ प्रतिशतले वृद्धि भइ २ लाख ६ हजार ६२९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आइ ८०८ अर्ब ९२ करोड कायम भएको छ। अघिल्लोवर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो।
पछिल्लो तथ्यांक अनुसार नेपालको चालू खाताको घाटा पनि बढेको छ। चैत महिनासम्ममा चालु खाता ५ सय १२ अर्ब ७१ करोडले घाटामा रहेको छ। फागुनसम्ममा भने ४६२ अर्ब ९३ करोडले मात्रै घाटा थियो। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २१० अर्ब ५१ करोडले घाटामा रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर खाताको घाटामा पनि वृद्धि भएको छ। चैतसम्ममा शोधनान्तर घाटा २६८ अर्ब २६ करोडले घाटामा रहेको छ भने फागुनसम्ममा यस्तो घाटा २५८ अर्ब ६४ करोड मत्रै घाटा थियो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो।
सञ्चिति पनि घट्दै
२०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४।३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७/४ महीनाको वस्तु आयात र ६/६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
२०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आइ २०७८ चैत्र मसान्तमा ११६७ अर्ब ९२ करोड कायम भएको छ। गत फागुनसम्ममा यस्तो सञ्चिति ११७१ अर्ब कायम थियो।
२८ वैशाख २०७९, बुधवार १६:५१ बजे प्रकाशित