युवा उद्यमशीलता विकास विशेष कार्यक्रम तत्काल शुरू गरौँ : अध्यक्ष ढकाल
काठमाडौँ, २२ कात्तिकः नेपाल उद्योग वाणिज्य महासङ्घले शनिबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस– २ मा सम्बोधन गर्दै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल । तस्बिरः प्रदीपराज वन्त÷रासस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा उद्यमशीलता विकास विशेष कार्यक्रम तत्काल शुरू गर्न आग्रह गर्नुभएको छ ।
आज काठमाडौंमा महासङ्घद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सरकार र महासङ्घको युवा उद्यमी मञ्चको सहकार्यमा यो कार्यक्रम शुरू गर्न सकिने बताउनुभयो ।
व्यवसाय दर्ता,पूँजी संकलन, बजार प्रवर्द्धन र वहिर्गमनका बिषयमा सहजीकरण अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले मुलुकको वर्तमान अवस्थामा युवाहरुले उठाइरहेको सुशासन, उद्यमशिलता एवम् रोजगारी जस्ता विषयको सम्बोधनमा स्टार्टअप नीतिको सशक्त कार्यान्वयन महत्त्वपूर्ण रहेको बताउनुभयो ।
युवाहरुका लागि परियोजना कर्जा, सामूहिक कर्जा, एकीकृत बजार विकास, सूचना प्रविधि र एआईको प्रयोग, डेटा सेन्टर लगायतका विविध योजना एकिकृत गरी नतिजामूलक कार्यक्रम तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
पूर्वाधार निर्माणमा तीब्रता अहिलेको आवश्यकता भएको बताउनुभयो । अध्यक्ष ढकालले सार्वजनिक र निजी क्षेत्रबाट निर्माण हुने पूर्वाधारको समस्या समाधानका लागि पनि संयन्त्र आवश्यक रहेको बताउनुभयो ।
वन, वातावरण र जग्गाको भोगाधिकार लगायतका स्थानिय मागहरु सम्बोधनका लागि सरकारले तदारुकता देखाएन भने काम सम्भव नरहेको बताउनुभयो । परियोजनास्थलमा हुने अनावश्यक अवरोधका कारण कतिपय साना परियोजनाको लागत भन्दा बढी माग आउने गरेको ढकालले बताउनुभयो ।































