बैंक खाताबाट ३ करोड ५१ लाख रुपैयाँ चोरी
काठमाडौँ । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ । कम्पनीको बैंकिङ प्रणाली ह्याक गरी खाताबाट पैसा चोरी भएको एफवान कम्पनीले जनाएको हो ।
एफवान सफ्टका अनुसार सिटिजन्स बैंकमा भएको कम्पनीको खाताबाट पटक–पटक गरी साढे ३ करोडभन्दा धेरै रकम चोरी गरिएको हो ।
कम्पनीले आफ्नो खाताबाट रकम चोरी भएको भनेर साइबर ब्युरोमा उजुरी गरेको छ । सोही आधारमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
कम्पनीले प्रहरीमा दिएको उजुरीमा सन् २०२४ अक्टोबर १, २, ३, र ४ तारिखमा खाताबाट ह्याकरले पैसा चोरेको उल्लेख गरेको छ ।
राहुल ठाकुरलगातयका विपक्षीहरूको खातामा रकमान्तर भएको कम्पनीले प्रहरीमा उजुरी गरेको छ ।
‘राहुल ठाकुरसमेतका विपक्षीहरूको खातामा रकमान्तर गरी निजहरुले रकम झिकिलिएको हुँदा निजहरूलाई कानून बमोजिम कारबाही गरी रकमान्तर गरिलिएको सम्पूर्ण रकम समेत निज विपक्षीहरूबाट दिलाई भराइपाउँ’, कम्पनीले दिएको उजुरीमा उल्लेख छ ।
कम्पनीको खाताबाट चोरी भएको पैसा नेपालमै विभिन्न व्यक्तिको खातामा लगेको देखिएको छ । एफवान सफ्टले फोन पे र ईसेवा जस्ता वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्दै आएको छ ।