sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सरकार गठनपछिको तीन महिना: राजस्व सङ्‍कलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपियाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको तीन महिनाको अवधिमा भएको कामकाजको प्रगति शुक्रबार सार्वजनिक गर्दै अर्थ मन्त्रालयले पुँजीगत खर्च गतवर्षको यसै अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

त्यसै गरी राजस्व सङ्‍कलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशत र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ । ब्याजदर घटेर औसत ६.१५१ प्रतिशत कायम भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौती रहे पनि पहिलेको तुलनामा सुधार आइरहेको बताउँदै तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको र गत वर्षको यसै अवधिको तुलनामा पुँजीगत खर्च र राजस्व सङ्कलनलगायतको कार्यमा वृद्धि भएको बताउनुभयो ।

यस वर्षको बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै अर्थ मन्त्रालयले यसबाट हालसम्मको चालु, पुँजीगत तथा समग्र खर्चमा उल्लेख्य सुधार ल्याउन सहयोग पुगेको जनाएको छ । बजेट कार्यान्वयन गर्न ७३ बुँदे मार्गदर्शन जारी गरिएको छ ।

समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरी अध्ययन कार्य प्रारम्भ भइसकेको उल्लेख गर्दै मन्त्रालयले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली परिचालन गरिएको जनकारी गराएको छ ।

नीतिगत सुधार

नयाँ बिमा नियमावली २०८१, भन्सार महसुल नियमावली २०८१ तथा साना तथा मझौला सङ्‍गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०८१ मन्त्रीपरिषद्‍मा पेस गरिएको छ । त्यस्तै सार्वजनिक संस्थानमा ऋण तथा लगानी सम्बन्धी नीति पनि तर्जुमा गरी मन्त्रीपरिषद्‍मा पेस गरिएको छ ।

आन्तरिक राजस्व परिचालन रणनीति २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै भन्सार मूल्याङ्कनलाई यथार्थ कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागु गरिएको छ भने आन्तरिक ऋण निष्कासन तथा व्यवस्थापन कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ संशोधन विधेयक सङ्‍घीय संसद्मा पेस गरिएको छ ।

आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१ तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेस गरिएको जानकारी गराउँदै अर्थ मन्त्रालयले हस्तान्तरण मूल्यसम्बन्धी निर्देशिका, २०८१ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।

दोस्रो वित्तीय क्षेत्र रणनीति निर्माणको कार्य प्रारम्भ र विकास सहायतासम्बन्धी नयाँ नीति तर्जुमाको कार्य भइरहेको जनाउँदै अर्थ मन्त्रालयले नयाँ बजेट तर्जुमा दिग्दर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ ।

भन्सार तथा कर प्रणालीमा सुधार

तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गरिएको छ । वीरगन्ज भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र नेपालगन्ज भन्सार कार्यालयमा ल्याब मोड्युल सुरु, प्रज्ञापनपत्रको जानकारी, निकासी तथा पैठारीकर्तालाई इमेल मार्फत जानकारी, नागरिक बचतपत्र र  वैदेशिक  रोजगार  बचतपत्रको  अभौतिकीकरण  कार्य  भएको अर्थ मन्त्रालयले जनाएको छ ।

वार्षिक २५ करोड रुपियाँभन्दा बढीको कारोबार गर्ने ४०० भन्दा बढी करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गरिएको जानकारी गराउँदै मन्त्रालयले अन्तःशुल्क चुहावट नियन्त्रणका लागि मदिरा, बियर, चुरोट, सुर्तीजन्य वस्तु, इनर्जी ड्रिङ्क्स र जुसको व्यावसायिक उत्पादन गर्ने १०० भन्दा बढी उद्योग प्रतिष्ठानको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको जनाएको छ ।

बहुवर्षीय ठेक्का प्रक्रियालाई थप व्यवस्थित र कार्यान्वयन योग्य बनाउन पहल गरिएको उल्लेख गर्दै मन्त्रालयले योजनाको प्राथमिकीकरण गरी बजेट विनियोजन तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने कार्य भएको उल्लेख गरेको छ ।

gold
prabhu bank
nawakantipur long