stcnepal long ad
ime life insurance
national life
global ime bank long

बैंकहरूको उठ्न नसकेको ब्याज दुई वर्षमै करिब शतप्रतिशत बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकहरूको उठ्न नसकेको ब्याज दुई वर्षमै करिब शतप्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार २०८१ असार मसान्तमा पाकेर उठाउन नसकेको ब्याज १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ ।

असार २०७९ मा यस्तो रकम करिब ६१ अर्ब ३५ करोड मात्रै रहेकोमा पछिल्लो दुई वर्षमै करिब शतप्रतिशत बढेको हो ।

नेपाल फाइनान्सियल एकाउन्टिङ स्ट्यान्डर्ड अनुसार ‘एक्रुअल’ आधारमा वित्तीय विवरण तयार गर्नुपर्ने हुन्छ । बैंकहरूले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आकलन गर्छन् ।

तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्था अनुसार त्यस्तो रकमबाट बैंकहरूले आयकर तिर्ने र कर्मचारी बोनसका लागि छुट्याए बाँकी रकम नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ ।

बैंकहरूले एक्रुअल आधारमा वित्तीय विवरण तयार गर्दा नउठेको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ । त्यस्तो ब्याज गत असारसम्म १ खर्ब १९ अर्ब ५९ करोड पुगेको छ ।

असार २०८० मा ९९ अर्ब रहेको यस्तो ब्याज एक वर्षमा करिब २० अर्ब अर्थात् १९.८ प्रतिशत बढेको हो । असार २०७९ को तुलनामा असार २०८० मा ६२.७ प्रतिशतले बढेको थियो ।

२० अर्ब उठ्न नसकेको ब्याजमा वृद्धि र गैरबैंकिङ सम्पत्ति समेत सोही हाराहारीमा बुक गरेका बैंकहरूले नाफाबाट २० प्रतिशत अनिवार्य जगेडा कोषमा छुट्याउनुपर्दा ७० अर्बभन्दा धेरै नाफा आर्जन गर्दा पनि लाभांश बाँड्ने क्षमता भने कमजोर देखिएको छ ।

बैंकहरूले उठ्न नसकेको ब्याजबाट कर र कर्मचारी बोनसका लागि रकम छुट्याएपछि करिब ६३ प्रतिशत रकम नियामकीय जडेगा कोषमा छुट्याउनुपर्ने हुन्छ ।

यस्तै गैरबैंकिङ सम्पत्ति बुक गर्दा पनि उठ्न बाँकी ब्याज नदेखिए आयकर र कर्मचारी बोनस छुट्याएर बाँकी करिब ६३ प्रतिशत नै नियामकीय जगेडामा छुट्याउनुपर्छ ।

उठ्न बाँकी ब्याज उठे पनि सेयरधनीलाई लाभांश बाँड्न पाइन्छ भने गैरबैंकिङ सम्पत्ति बुक गर्दा त्यसलाई बिक्री गरेपछि त्यसबाट लाभांश बाँड्ने गरी नियामकीय जगेडा कोषबाट सञ्चित नाफामा सार्न सकिन्छ ।

बैंकहरूले ब्याज उठाउन नसक्दा खुद कर्जा विस्तार न्यून भए पनि बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी ५१ खर्ब ९३ अर्ब ५६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० असार मसान्तमा ४८ खर्ब ९६ अर्ब ८२ करोड रहेको बैंक तथा वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी गत आवमा ६.१ प्रतिशतले बढेको हो ।

उठ्न नसकेको ब्याजका कारण ६.१ प्रतिशतले निजी क्षेत्रमाथिको दाबी वृद्धि देखिए पनि कर्जाको साँवा वृद्धि भने २ खर्ब ७७ अर्ब अर्थात् ५.८ प्रतिशतले मात्रै बढेको छ ।

असार २०८० मा ४७ खर्ब ९७ अर्ब ३ करोड रहेकोमा गत असारमा आउँदा ५० खर्ब ७३ अर्ब ९७ करोड पुगेको हो । राष्ट्र बैंकले गत आ.व.को मौद्रिक नीतिमा निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको थियो ।

IME Lifesidebar
kumari