निजी क्षेत्र प्रवर्द्धन गरे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको आगामी वर्षको बजेटप्रति सकारात्मक धारणा राखेका छन् ।
मंगलबार साँझ विज्ञप्ति जारी गर्दै ढकालले आर्थिक वर्ष २०८१/८२ लाई सरकारले घोषणा गरेको आर्थिक सुधार वर्षको स्वागत गरेका हुन् ।
‘२०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरिएको थियो, सोहीअनुरुप नयाँ चरणको सुधार र आयोग बन्नेसँगै सुधार वर्ष घोषणा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने सरकारको नीतिलाई पनि अध्यक्ष ढकालले सकारात्मक रुपमा लिएका छन् ।
‘महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटनमा वैवाहिक पर्यटन ९एमआईसीई०, पर्यटन हिल स्टेसन विकास गर्ने विषय आएका छन् ।’
सूचना प्रविधि र स्टार्ट अपमा केही सहुलियत र विस्तारका योजना ल्याएकोप्रति पनि अध्यक्ष ढकालले स्वागत गरेका छन् ।
उनले भने, ‘महासंघको सधैँको माग निजी क्षेत्र प्रवर्द्धन थियो, त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ । यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ ।’
अध्यक्ष ढकालले राजश्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा भने आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने जनाएका छन् ।