आगामी वर्षको बजेटका लागि पूर्वका उद्योगीले सरकारलाई सुझाव दिए
काठमाडौं । आगामी वर्षको बजेटका लागि पूर्वका उद्योगीले सरकारलाई सुझाव दिएका छन् । उद्योग संगठन मोरङले उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या र आगामी आर्थिक वर्ष ०८१र८२ को बजेटमा समेट्नुपर्ने विषय राखेर सरकारलाई सुझाव दिएको हो ।
संगठनका अध्यक्ष राकेश सुराना नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दहाल, अर्थमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायतलाई भेटेर सुझाव पेस गरेको हो ।
अध्यक्ष सुरानाले विद्युत् आपूर्तिको समस्या, बजारको सुस्तता, औद्योगिक क्षेत्रमा परेको प्रभाव, तत्काल गर्नुपर्ने काम, आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि आग्रह गरेको बताए ।
अहिले दैनिक १५ घण्टासम्म विद्युत् कटौती भइरहेको, दैनिक १२ पटकसम्म ट्रिपिङ हुने र बिजुली कति वेला आउँछ भनेर टुंगो नहुँदा उद्योग सञ्चालनमा कठिनाइ भइरहेको उनको भनाइ थियो ।
अर्थमन्त्री पुनसँगको भेटवार्तामा प्रतिनिधिमण्डलले ०८१/८२ मा सम्बोधन गर्नुपर्ने निजी क्षेत्रका विषयहरू समेटिएको सुझाव पेस गरेको थियो ।
साथै, अहिलेको आर्थिक सुस्तता र निराशालाई सम्बोधन गर्ने गरी आगामी बजेट निर्माण गर्न पनि आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीलाई उद्योग अवस्थाप्रति संवेदनशील भई अभिभावकको भूमिका निर्वाह गर्न सुरानाले आग्रह गरे ।
प्रक्रियागत जटिलता सरलीकरण, कार्गो रेल तत्काल सञ्चालनको वातावरण तयार गर्न, ओैद्योगिक पूर्वाधार निर्माणका साथै आगामी बजेटसम्बन्धी सुझाव प्रस्तुत गरेको संगठनले जनाएको छ ।
यस्तै, पर्यटनमन्त्री तामाङलाई भेटेर भारतीय पर्यटक भित्र्याउने गरी प्रवद्र्धनका काम गर्न पनि आग्रह गरिएको छ ।
प्रतिनिधिमण्डलले अर्थमन्त्री पुनसँग आगामी बजेटमा सम्बोधन गर्नुपर्ने दर्जनौँ माग पेस गरेको छ । बजारबाट पैसा उठाउन समस्या भइरहेको औँल्याउँदै उधारो कारोबारको समुचित नियमन एवं व्यवस्थापनका लागि यशाशीघ्र स्पष्ट कानुन आवश्यक रहेको सुझावपत्रमा उल्लेख छ ।
साथै, संगठनले कार्गो रेल सञ्चालन, सरकारको पुँजीगत खर्च गर्ने क्षमता विकास, निर्यात प्रवद्र्धनमा कानुनी सुधार तथा प्रक्रियागत जटिलता सरलीकरण गर्न माग गरेका छन् ।
त्यस्तै, राजस्वका समस्या लगायत विषयमा आफ्ना मागको तीन महलेसहित अर्थमन्त्री पुनलाई पेस गरेको छ ।