sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

चैतमा निक्षेपको ब्याजदर घट्ने सम्भावना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी चैतमा समेत निक्षेपको ब्याजदर घट्न सक्ने सम्भावना रहेको बैंकरहरूले बताएका छन्।

बैंकहरूमा पर्याप्त तरलता रहेकोले चैतमा थप ब्याजदर घट्ने सम्भावना रहेको उनीहरूले बताएका हुन्। अहिले पनि कर्जाको माग बढेको छैन, बैंकहरूलाई निक्षेपको भार कायमै छ, त्यसैले चैतमा पनि निक्षेपको ब्याजदर केही न केही घट्ने सम्भावना छ, एक बैंकका सिईओले बताएका छन् ।

वाणिज्य बैंकहरूले फागुनमा अधिकतम ब्याजदर ८.५ प्रतिशत तोकेका थिए।

कर्जा नगएको कारण बैंकहरूले सरकारी ऋणपत्र र राष्ट्र बैंकले बजारबाट तरलता खिच्ने विभिन्न उपकरणहरूमा लगानी गरिरहेका छन्। यस्ता उपकरणमा लगानी गरेर बैंकले ३ प्रतिशत हाराहारी मात्रै ब्याजदर पाइरहेकाले लागत भार धेरै भएको ती सिईओले बताएका छन् ।

मासिक रूपमा रेमिटेन्स बढेको, आयातमा सुधार हुन नसकेको कारण बैंकहरूमा कर्जा माग घटेको छ, निक्षेप थुप्रिएको छ। अहिले पनि बैंकिङ प्रणालीमा ६ खर्ब हाराहारी कर्जा लगानी योग्य पुँजी छ।

अहिले केही संस्थाबाट निक्षेप बाहिरिएकोले अन्य बैंकमा यस्तो निक्षेप थपिएको छ, ती सिईओले भने, ,कर्जा नगएकोले यो समय निक्षेप घट्ने बैंकलाई नै फाइदा भएको छ। अहिले संस्थागत लगानीकर्ता र व्यक्तिगत मुद्दती निक्षेपबीचको ब्याज अन्तर पनि घटाइएको छ, त्यसैले थोरै ब्याजदर थप घट्ने नै हुन्छ।

राष्ट्र बैंकले यसअघि व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत निक्षेपबीच ब्याज अन्तर कम्तीमा दुई प्रतिशत हुनुपर्ने व्यवस्थामा संशोधन गरेको थियो।

घट्दो ब्याजदरको कारण संस्थागत निक्षेप घट्न सक्ने भए पनि हालै यस्तो ब्याज अन्तर एक प्रतिशतसम्म हुनसक्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले भने अब निक्षेप ब्याजदर धेरै घटाउन नहुने सुझाव बैंकहरूलाई दिएको छ। कम ब्याजको कारण निक्षेप निरुत्साहित हुन सक्ने भन्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो।

पुँजी भार बढी रहेको कारण थोरै भए पनि निक्षेपको ब्याजदर घट्ने सम्भावना रहेको बैंकरहरूले बताएका हुन्।

आर्थिक वर्षको अन्त्य हुँदै जाँदा सरकारबाट हुने खर्च केही न केही वृद्धि हुने भएकोले कर्जाको मागमा सामान्य नै भए पनि सुधार हुनसक्ने आँकलन गरिएको छ। यही कारण पनि निक्षेपको ब्याजदर धेरै नघटाउने सोचमा बैंकहरू छन्।

prabhu bank
nawakantipur long