बैङ्क तथा वित्तीय संस्थाले कुल दुई खर्ब ३९ अर्ब ४९ करोड (कारोबारमा आधारित) तरलता उपयोग

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको समीक्षामा बैङ्क तथा वित्तीय संस्थाले कुल दुई खर्ब ३९ अर्ब ४९ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् ।
बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत दुई खर्ब ३८ अर्ब २९ करोड गरी कुल दुई खर्ब ३९ अर्ब ४९ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका हुन् ।
अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद २३ खर्ब ५५ अर्ब नौ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैक) बाट अमेरिकी डलर एक अर्ब २५ करोड ६३ लाख खुद खरिद गरी एक खर्ब १६६ अर्ब ५४ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब १९ करोड ९७ लाख खुद खरिद गरी एक खर्ब ५४ अर्ब चार करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी ९५ अर्ब ५४ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब दुई करोड बिक्री गरी एक खर्ब ३० अर्ब ४१ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा वाणिज्य बैंकहरूको करिब १३ खर्ब नौ अर्ब र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैङ्कबाहेक) को एक खर्ब ८४ अर्ब गरी कुल १४ खर्ब ९४ अर्बको अन्तर बैङ्क कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको आठ खर्ब ५६ अर्ब दुई करोड र अन्य वित्तीय संस्थाहरूको ८५ अर्ब ५८ करोड गरी कुल नौ खर्ब ४१ अर्ब ६० करोडको अन्तरबैंक कारोबार भएको थियो ।
४ मंसिर २०८०, सोमवार ०८:०२ बजे प्रकाशित