नेपालमा १ सयभन्दा ठूला दरका भारतीय रुपैयाँ कारोबार गर्न प्रतिबन्धित छ :राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिबन्धित दरका भारतीय नोट साथमा नराख्न आग्रह गरेको छ । केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनाका लागि सूचना जारी गर्दै नेपालमा भारतीय १ सय रुपैयाँभन्दा ठूला नोटको कारोबार गर्न प्रतिबन्ध रहेको जनाएको हो ।
‘नेपालमा भारतीय रुपैयाँ १ सय दरभन्दा ठूला दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको छ’ सूचनामा भनिएको छ ।
नेपाल राष्ट्र बैंकले भने भारतबाट नेपाल आँदा वा नेपालबाट भारत जाँदा ५ हजार अमेरिकी डलर बराबार भारतीय रुपैयाँ मात्रै लान र ल्याउन पाउँने व्यवस्था गर्दै आएको जनाएको छ ।
सोभन्दा बढी रकम ल्याउन र लान परे भन्सार घोषणा गर्नुपर्छ ।भारत भ्रमणका लागि भारतीय रुपैयाँ २५ हजारसम्म नगद र औषधोपचारको लागि भारतीय रुपैयाँ ५० हजारसम्म नगदको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने राष्ट्र बैंकले बताएको छ ।
भारत भ्रमणमा जाने नेपाली नागरिकले भारतीय रुपैयाँ २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेञ्जरबाट पनि लिनु पर्नेछ ।
कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टी.टी., कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।























