नेपालका लागि २ अर्ब ६० करोड अनुदान विश्व बैंकद्वारा स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनालाई सहयोग गर्न २ अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात् २ करोड डलर अनुदान स्वीकृत गरेको छ ।
यस परियोजनाले नेपालका १६ गाउँपालिकाका ५५ हजारभन्दा धेरै साना किसानलाई कृषि उत्पादकत्व र पोषण अभ्यासमार्फत लाभ दिने उद्देश्य रहेको बैंकले जनाएको छ ।
‘दिगो विकासका लक्ष्य र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिवद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हासिल गर्दै गरिबी न्यूनीकरण गर्नु नेपाल सरकारको राष्ट्रिय लक्ष्य छ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने ।
परियोजनाले उत्पादकत्व र जीविकोपार्जनसँगै सीमान्तकृत समुदायको पोषण सुरक्षा सुधार गर्न सरकारको प्रयासलाई मद्दत पुग्ने विश्व बैंकको भनाइ छ ।
५ असोज २०८०, शुक्रवार १९:२० बजे प्रकाशित