ठमेल प्लाजा होटलले १० करोडको आइपीओ जारी गर्ने, एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक
काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणलाई १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ।
कम्पनीले १ सय रुपैयाँ अंकति दरका १० लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र ठमेल प्लाजा होटल एण्ड सुइटस्को तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा प्रदान गर्दै आएको छ ।
साथै कम्पनीले धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा सेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।
ठमेल प्लाजा होटल का.म.न.पा वडा नं. १६, ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा ४ तारा स्तरको होटल “रमदा इन्कोर काठमाडौं ठमेल” को नामबाट बिगत ३ बर्ष देखि सञ्चालन हुँदै आएको छ । यस होटलले हाल ९० वटा कोठा मार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गरिरहेको छ ।
यस होटलले हङकङ स्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एसिया प्याशिफिक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ । रमदा इन्कोर काठमाडौं ठमेल नामक ट्रेडमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेकोछ ।
अमेरिकाको न्यु जर्शी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत संसार भरी ९ हजार १ सय भन्दा बढी होटल तथा रिसोर्टहरु सञ्चालनमा रहेका छन् ।
वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत हाल रहेका २५ वटा ब्राण्डहरुमध्ये रमदा अन्तर्गत डिसेम्बर ३१, २०२२ सम्म ६३ देशमा ८५१ वटा होटलहरु सञ्चालनमा रहेका छन् ।