सप्तकोशीको नाफा १०९.४१% वृद्धि
आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड २३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १०९.४१% ले धेरै हो । गत वर्ष यसले २ करोड ४९ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ७७.३८% र १०६.९५% ले वृद्धि भएको देखिन्छ ।
यी दुवैमा सुधार हुँदा समग्र खुद नाफा माथि जान सजिलो भएको हो । गत वर्ष ९ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो आर्थिक वर्षको चैतसम्ममा बढाएर १६ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि ३ करोड ५७ लाख रुपैयाँबाट बढाएर ७ करोड ३८ लाख रुपैयाँ पुर्याएको छ । चैत मसान्त सम्ममा सप्तकोशीले २ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चुक्ता पुँजी ७८ करोड ७१ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा भने १३ करोड ३६ लाख रुपैयाँ छ । यसले खराब कर्जा पनि घटाएको छ । गत वर्ष १.६८% रहेको खराब कर्जा अहिले घटेर १.६५% कायम भएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा (वार्षिक) रहेको सप्तकोशीको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५१ पैसा छ ।


























