पोखरा फाइनान्सको नाफा ३९.९०% बढोत्तरी

आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार
काठमाडौं । पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा ३९.९०% धेरै हो । गत वर्ष यस कम्पनीले ६ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले खुद ब्याज आम्दानी पनि १८ करोड ६८ लाख रुपैयाँबाट बढाएर २४ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै, पोखरा फाइनान्सले यस अवधिमा सञ्चालन नाफा पनि ८ करोड ९७ लाख रुपैयाँबाट बढोत्तरी गरेर १२ करोड ६० लाख रुपैयाँ पुर्याएको छ । चैत मसान्तसम्म ६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेको पोखराले ६ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ९१ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
रिजर्भ कोषमा भने २७ करोड ९२ लाख रुपैयाँ छ । यसको खराब कर्जा पनि घटेको छ । गत वर्ष १.०४% रहेको यसको खराब कर्जा यो त्रैमासमा घटाएर ०.९०% मा सीमित गरिदिएको छ । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५१ पैसा रहेको छ ।