एनआइसी एसियाको चैत २० गते वार्षिक साधारण सभा
काठमाडौं । एनआइसी एसिया बैंकको चैत २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा प्रयोजनका लागि एनआइसी एसियाले चैत ८ गते मंगलबारदेखि बुक क्लोज गर्नेछ । चैत ७ गतेसम्म कायम रहने सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । बैंकले लाभांश प्रस्ताव बिनै साधारण सभा गर्न लागेको हो ।
यसअघि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरे पनि नियामक नेपाल राष्ट्र बैंकले अस्वीकृत गरपछि प्रस्तावित लाभांश रद्द भएको थियो । केन्द्रीय बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको हो।
एनआइसी एसियाले सभामा प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने, संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकमा विजया स्वारको नियुक्तिलाई अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।
यस्तै, संस्थापक र सर्वसाधरण सेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
























