हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई कडा कारवाही गर्ने बताएको छ । मर्जरको अन्तिम तयारीमा रहेका यी दुई बैंकले अन्तिम समयमा आएर मर्जर भाँडेपछि नेपाल राष्ट्र बैंकले कडा कारवाही गर्ने बताएको छ।
दुई बैंकबीच मर्जर गर्ने भन्दै हिमालयन बैंकले गत पुस ३० गते शुक्रबार साधारण सभामा मर्जरका लागि विशेष प्रस्ताव पेश गरेको थियो ।
तर, बार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसंगै मर्जर असफल भएको हो ।
राष्ट्र बैंकले यी दुवै बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसारको कारबाही गर्ने बताएको छ । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अब राष्ट्र बैंक कारवाहीको प्रक्रियामा अगाडि बढ्ने बताएका छन ।
ढकालका अनुसार दुई बैंकको सञ्चालक समितिले डिमर्जको पत्र राष्ट्र बैंकलाई पठाएपछि राष्ट्र बैंकले डिमर्ज गर्ने र कारवाही प्रक्रिया पनि अगाडि बढाउने भएको छ ।
‘हामीले डिमर्ज पनि गरिदिन्छौं, पहिले हामी सञ्चालकहरुलाई सचेत गराउँछौं, दोस्रो अर्को संस्थासँग मर्जर नभएसम्म तीन वर्षसम्म लाभांश दिन रोक लगाउने, तेस्रो, शाखा कार्यालय खोल्न बन्देज गर्ने र राष्ट्र बैंकबाट प्राप्त गर्ने कुनै पनि सेवा सुविधाबाट बञ्चित गर्नेछौं,’ उनले भनेका छन ।
विशेष प्रस्ताव स्वीकृत हुनलाई कम्तिमा ७५ प्रतिशत सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ ।
बिशेष प्रस्ताव अस्वीकृत भएपछि हिमालयन बैकको बार्षिक साधारण सभामा संचालकहरुबीच नै बादविवाद भएको थियो। हिमालयन बैंकका ३० प्रतिशत सेयर धनीले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा नजाने मत दिएका कारण यी दुई बैंक बीचकाे मर्जर प्रकृया भाडिन पुगेकाे छ।





















