तरलता केही सहजता बन्दै गयो, सिडि रेसियो ९०.४५ प्रतिशतमा झरयो
Nepal Rastra Bank
काठमाडौं । अघिल्लो महिना तरलता(लगानी योग्य रकम) को चरम अभावबाट गुज्रेको नेपालको अर्थतन्त्र विस्तारै केही सहज हुँदै गएको देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय क्षेत्रमा सीआरआरपछिको अधिक तरलता २५ अर्ब रुपैयाँ रहेको छ। यस्तो तरलता पुस महिनाको सुरुआती चरणमा १६ अर्ब रुपैयाँमात्रै थियो।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैंकले अहिले पुनर्कर्जाको पैसा व्यापक दिइरहेको बताएका छन। ‘यो महिना अहिलेसम्म पुनर्कर्जाको ३० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा पठाइएको छ’, उनले भनेका छन।
पुनर्कर्जाको पैसा गएसँगै अन्तरबैंकिङ ब्याजदर पनि केही सहज भएको देखिन्छ। अहिले अन्तरबैंकिङ ब्याजदर ४।९७ प्रतिशत रहेको छ।
गत पुस १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले कर्जा ४६ खर्ब १८ अर्ब रुपैयाँ परिचालन गरेका छन्।
बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ९०.४५ प्रतिशतमा झरेको छ। केही समय पहिला औसत सीडी रेसियो ९१ प्रतिशतभन्दा माथि पुगेको थियो।


























