सम्झौताको ७ महिनापछि इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्ज हुन तयार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लि. र हिमालयन बैंक लि. बीच मर्जर हुने भएको छ । गत पुस ४ गते आइतबार बसेको हिमालयन बैंकको संचालक समिति बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको बताइएको छ ।
नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरका लागि गत २०७८ वैशाख ३० गते नै समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । तर, कार्यान्वयन भएको थिएन ।
मर्जरमा जाने भन्दै छलफल गरिरहेका नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले २ पटक म्याद समेत थपेको थियो ।
राष्ट्र बैंकले पछिल्लो पटक थप गरेको म्यादभित्रै मर्जरको काम सक्ने गरी प्रक्रिया अघि बढेको हिमालयन बैंक संचालक समितिका एक सदस्यले बताएका छन ।
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका बीच समान हैसियत सेयर अनुपातका आधारमा मर्जर हुने भएको छ । बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भइसकेको छ ।
























