आईपीएसको अधिकतम शुल्क रु. ८ मात्रै

काठमाडौं। नेसनल पेमेन्ट स्विच अन्तर्गत रिटेल पेमेन्ट स्विचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ हाउसले गत मंसिर ७ गतेबाट लागू हुने गरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको जनाएको छ।
नयाँ कारोबार शुल्कअनुरुप बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम रु. २ देखि रु. ८ सम्मको प्रतिकारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन्।
रु. ५०० सम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क रु. २, रु. ५०० भन्दा माथि रु. ५ हजारसम्म प्रतिकारोबार शुल्क रु. ४ र रु. ५ हजारभन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क रु. ८ लागू हुने भएको छ ।
यसले ग्राहकलाई एनसीएचएलका कनेक्ट आईपीएस वेब तथा मोबाइल एप, बैंक तथा वित्तीय संस्थाका मोबाइल तथा इन्टरनेट बैंकिङ वालेटमा फन्ड लोड तथा विथड्रलगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको जनाएको छ।
कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रतिकारोबार शुल्क रु. २ देखि रु. ५ कायम रहेको छ।
नेपाल राष्ट्र बैंकको मार्ग निर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवर्द्धनका लागि एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको बताएको छ।
हालै नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा कारोबार शुल्क रु. १० देखि अधिकतम रु. ३० सम्म तोकिएको थियो।
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नै कनेक्ट आईपीएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या १ लाख १७ हजार १२ तथा रकमका आधारमा दैनिक औसत रु. ८.३ अर्ब बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्न जानेछ।
भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारीमा उपलब्ध गराउने एनसीएचएलको सिद्धान्त बमोजिम एनसीएचएलले विद्युतीय चेक क्लियरिङ, अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्याउँदै आएको छ।
हाल कार्यान्वयन हुन गइरहेको नेसनल पेमेन्ट स्विच मार्फत विभिन्न भुक्तानी पूर्वाधार, सेवा, प्रणाली एवं उपरकरणबीच अन्तर आबद्धता कायम गर्न आवश्यक समन्वयका लागि पनि एनसीएचएलले सदस्य बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकसँग सहकार्यता गर्दैछ।