आज कात्तिक २३ गते कामना सेवाको साधारण सभा

काठमाडौं । कामना सेवा विकास बैंकको साधारण सभा आज कात्तिक २३ गते मंगलबार बस्दैछ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १० गते बुक क्लोज गरेको छ । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरिसकेका छन् ।