citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकको हस्तक्षेपकारी नीतिका कारण शेयर बजारमा गिरावट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकको हस्तक्षेप पछि गत भदौमा शेयर कर्जा (मार्जिन लोन) सवा २ अर्ब रुपैयाँ घटेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले शेयर धितोमा लिइने कर्जामा सीमा तोकेको थियो । सोही व्यवस्थाका कारण गत भदौमा शेयर धितो कर्जा घटेको जानकारहरू बताउँछन् ।

गत आर्थिक वर्षका सबै महिना र चालु आर्थिक वर्षको साउनसम्म शेयर धितो कर्जा बढेको थियो तर गत असारको तुलनामा भदौमा यस्तो कर्जा २.१ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने करिब ५ प्रतिशत बढेको थियो ।

राष्ट्र बैंकले विगतदेखि नै सेयर बजारलाई अस्थिर बनाउने नीति ल्याउँदै आएको र सोही क्रममा सेयर कर्जामा सीमा तोकिएको सेयर विश्लेषक रवीन्द्र भट्टराईको आरोप छ । ‘राष्ट्र बैंकले जहिले पनि बजारलाई अस्थिर बनाउँदै आएको छ,’ उनले भने, ‘मार्जिन कर्जामा ४ करोड र १२ करोडको सीमा पनि त्यसकै निरन्तरता हो ।’

अझै पनि बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्य छ । यस कारण राष्ट्र बैंकका स–साना निर्देशनले पनि बजारमा ठूलो प्रभाव पर्दै आएको छ । त्यसमाथि राष्ट्र बैंकको धारणा सकारात्मक नहुँदा बजार अस्थिर बन्दै आएको उनको दाबी छ ।

विद्यमान व्यवस्थाअनुसार धितोपत्रमा लगानीका लागि सेयर धितो राखेर कर्जा लिँदा एउटा संस्थाबाट प्रतिव्यक्ति ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी १२ करोड भन्दा बढी कर्जा लिन पाइँदैन । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आएको उक्त व्यवस्था भदौ पहिलो सातादेखि लागू भएको हो ।

उक्त व्यवस्थाअघि लिएका सेयर कर्जालाई पनि निर्देशित सीमाभित्रै कायम गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्तो व्यवस्थाले मध्यम तथा ठूला लगानीकर्ता कर्जा लिनबाट वञ्चित भएको जानकारहरू बताउँछन् । यही कारण आउँदा दिनमा सेयर कर्जा घट्ने र त्यसको संकेत देखिइसकेको उनीहरूको भनाइ छ ।

गत भदौमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । गत असारमा यस्तो कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ थियो । गत आर्थिक वर्षको भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने यस्तो कर्जा ९७ प्रतिशत बढेको देखिन्छ । गत आर्थिक वर्षको भदौमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कुल ५२ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा बढाएर करिब दोब्बर पुर्‍याएका थिए । यो उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रवाह गरेको कर्जाको वृद्धिदरमध्ये सबैभन्दा बढी हो । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका कारण चालु आर्थिक वर्षका धेरैजसो महिना अर्थतन्त्रका धेरै क्षेत्र ठप्प थिए । जसकारण ती क्षेत्रबाट कर्जा माग हुन सकेको थिएन तर सेयर बजार भने निरन्तर उकालो लागिरहेको थियो । यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा विस्तार गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा प्रवाह गर्ने कर्जालाई २५ लाखभन्दा कम, २५ देखि ५० लाख रुपैयाँसम्म, ५० लाखदेखि १ करोडसम्म र एक करोड रुपैयाँभन्दा बढी गरी चार वर्गमा वर्गीकरण गरिएको हुन्छ । यसका आधारमा गत असारसम्म यो क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा धेरै ९करिब ६८ प्रतिशत० एक करोड रुपैयाँभन्दा बढीको छ । यसले सेयर बजारमा ठूलो व्यापारी वा व्यावसायिक घरानाकै प्रभुत्व रहेको पुष्टि हुन्छ ।

सेयर बजारमा बैंकले प्रवाह गरेको कुल कर्जाको करिब १२ प्रतिशत ५० लाखदेखि १ करोड रुपैयाँसम्मको, करिब १३ प्रतिशत २५ देखि ५० लाख रुपैयाँसम्मको र ७ प्रतिशत कर्जा २५ लाखभन्दा कम रकमको रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म ओभरड्राफ्ट कर्जा करिब साढे ६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा वृद्धिदर १.३ प्रतिशत घटेको थियो ।

व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको अधिकांश कर्जा पनि सेयर बजारमा गएको बताइएको छ । यो शीर्षकमा प्रवाह भएको कर्जाको प्रयोजन खुलाइएको हुँदैन । यस कारण बजार बढेसँगै ओभरड्राफ्ट कर्जा पनि वृद्धि भएकाले धेरै रकम सेयर बजारमा गएको जानकारहरू बताउँछन् । एउटै क्षेत्रमा धेरै कर्जा प्रवाह हुँदा जोखिम पनि धेरै हुने उनीहरूको भनाइ छ ।

यस विषयमा राष्ट्र बैंक पनि जानकार छ । सोही कारण मौद्रिक नीतिमार्फत पटकपटक व्यक्तिगत ओभरड्राफ्टमा कडाइ गर्दै आएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि लगानीको स्रोत (औचित्य)नखुल्ने कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने जोखिमको भार बढाइएको छ । आजको कान्तिपुर दैनिकबाट

himalayan life insurance
igi long