राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति पत्र खारेज गरेको छ । बैबैंकको भुक्तानी प्रणाली विभागले हिजो मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमति पत्र खारेज गरेको हो ।
‘यस बैंकबाट २०७७ को असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमति पत्र प्रदान गरिएकामा भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्था बमोजिम उक्त अनुमति पत्र खारेज गरिएको हो’, बैंकद्वारा जारी सूचनामा भनिएको छ ।
राष्ट्र बैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार सो वालेटले भुक्तानी तथा फर्छ्यौट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो ।
‘भुक्तानी तथा फर्छ्यौट विनियमावली अनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले छ महिना भित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार एक वर्षसम्म पनि सेवा सञ्चालनमा ल्याउन नसकेपछि अनुमति पत्र खारेज गरिएको हो’, कँडेलले भने ।