सिभिल बैंकको अध्यक्ष प्रतापजंग पाण्डेलाई बनाउने तयारी
पाण्डेलाई अध्यक्ष बनाउने विषयमा सञ्चालकहरुबीच अनौपचारिक सहमति जुटेको बैंक स्रोतले बताएको छ ।
काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्ष प्रतापजंग पाण्डेलाई बनाउने तयारी भैरहेको छ । बैंकका अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी लिमिटेड मार्फत ठगी गरेको आरोपमा प्रहरीले हिरासतमा राखेपछि सिभिल बैंकको सञ्चालक समितिले ठगी अभियोग लागेका तामाङका कारण बैंकको इमेज बिग्रन लागेकाले अध्यक्ष तामाङलाई हटाएर नयाँ अध्यक्ष छनौट गर्ने तयारी हुन थालेको छ ।
पाण्डेलाई अध्यक्ष बनाउने विषयमा सञ्चालकहरुबीच अनौपचारिक सहमति जुटेको बैंक स्रोतले बताएको छ । एक साताभित्र सञ्चालक समितिको बैठक बसी नयाँ अध्यक्ष चयन गर्ने तयारी भइरहेको बैंक स्रोतले बताएको छ ।
अध्यक्षमा सञ्चालकद्वय प्रतापजंग पाण्डे र अम्बीर बोगटीले इच्छा प्रकट गरेका छन । तर बहुमत सञ्चालकको चाहाना भने पाण्डेलाई अध्यक्ष बनाउने देखिएको छ । यसमा पाण्डे र बोगटी सहित सबै सञ्चालकहरूलाई सहमत गराएर विवाद नगरि सहमतिमा अध्यक्ष चयन गर्ने पक्षमा सञ्चालकहरू रहेका छन् ।
सिभिल बैंकका अध्यक्ष तामाङलाई प्रहरीले हिरासतमा राखेको छ । त्यो सिभिल बचत तथा ऋण सहकारी लि. सँगको कारोबारको विषय हो । बैंकको विषयमा कुनै समस्या छैन्। बैंकभित्र कुनै समस्या छैन । सञ्चालकहरूले सहमतिमा नै अध्यक्ष चयन गरेर राम्रो सन्देश दिन चाहेका छन बैंक स्रोतले भन्यो।
सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ मार्फत बचतकर्तालाई ठगी गरेको आरोपमा इच्छाराज तामाङ तीन सातादेखि प्रहरी हिरासतमा छन् । सहकारीका ११२६ जनाले तामाङ माथि ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँ ठगी गरेको किटानी जाहेरी दिएका छन।
तामाङले भने सो पैसाले घर जग्गामा लगानी गरेको तर घाटा लागेर बचतकर्ताहरूको रकम साँवाव्याज सहित फर्काउन नसकेको प्रहरी बयानमा बताउदै आएका छन। तर सिभिल होम्सले बनाएको घर जग्गामा घाटा होइन राम्रो मुनाफा आर्जन गरेर अरबौं कमाएको तर कागजमा भने घाटा देखाएर तामाङले अनियमितता गरेको सहकारीका सञ्चालकहरू नै बताउछन ।
नेकपा (एमाले) का नेताहरूलाई १० करोड नगद चढाएर संविधान सभा सदस्य समेत बनेका तामाङले सो पदको समेत दुरूपयोग गरि सयौं चिनेजानेका मानिसलाई राम्रो व्याज पाउने आस्वासन दिई सिभिल सहकारीमा पैसा बचत गर्न लगाई ठगी गरेको आरोप लागेको छ।
को हुन प्रतापजंग पाण्डे ?
प्रतापजंग पाण्डे सिभिल बैंकका सञ्चालक हुन् । बैंकले प्रकाशित गरेको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार उनी सो बैंकका सबैभन्दा ठूला सेयरधनी पनि हुन् । तत्कालिन इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी सिभिल बैंकमा मर्ज भएसँग पाण्डे सिभिल बैंकको लगानीकर्ता भएको थिए । मर्जपछिको साधारणसभाबाट उनी सञ्चालक समिति सदस्यमा चुनिएका हुन् ।
नेपाल फिलिपिन्स सोसाइटी (नोफिल) को अध्यक्ष समेत रहेका पाण्डे कैलाश हेलिकप्टरको प्रबन्ध निर्देशक पनि हुन् । पाण्डे परिवारले लोमस फर्मास्यूटिकल्स प्रा. लि. बाट व्यवसाय शुरु गरेका थिए ।
अहिले उनीहरूले औषधी बाहेक सिमेन्ट उद्योग, पर्यटन, बैंक, जीवन बीमा, निर्जीवन बीमा, सूचना प्रविधि, व्यापार लगायतको क्षेत्रमा लगानी विस्तार गरेका छन् । उनले लगानी गरेका कम्पनीहरू नेपालको उधोग व्यवसाय क्षेत्रमा राम्रा र सफल व्यवसायीक कम्पनी मानिन्छन।
























