सिद्धार्थ बैंकको नाफा ८९.५ प्रतिशतले बृद्वि

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिका बैंकको नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.५ प्रतिशतले बढेको देखिएको छ ।
यो अवधिमा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकको नाफा ५० करोड ६ लाख रुपैयाँ मात्र रहेको थियो । बैंकको सञ्चालन मुनाफा पनि ८७.२७ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा बैंकको सञ्चालन मुनाफा ७२ करोड ४२ लाख रुपैयाँ रहेको थियो।
प्रथम त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढेको छ। गत वर्ष १ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको सो बैंकले जनाएको छ । बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८७ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। बैंकको रिजर्भको आकार ०.०८ प्रतिशतले घटेर ८ अर्ब २ करोड रुपैयाँमा झरेको छ। गत वर्ष रिजर्भमा ८ अर्ब ३ करोड रुपैयाँ रहेको थियो।
चुक्ता पुँजी १० अर्ब ९६ करोड रुपैयाँ रहेको सिद्वार्थ बैंकको खराब कर्जा (एनपीएल) १.३२ प्रतिशत घटेर ०.५४ प्रतिशतमा सीमित बनेको छ । सीडी रेसियो ८७.७५ प्रतिशत रहेको बैंकको आधार दर ७.५७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३३.६१ रुपैयाँ पुगेको छ । पीई रेसियो १३.६६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८८.१३ रुपैयाँ रहेको बैंले जनाएको छ ।