एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद लम्बिए

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद लम्बिएको छ । अब कात्तिक २९ गतेसम्म हकप्रद भर्न सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।
यस अघि असोज २५ गतेदेखि आइतबार कात्तिक १४ गतेसम्म हकप्रद भर्ने म्याद तोकिएको थियो । यद्दपि, विवरणपत्रमा उल्लेखित व्यवस्था बमामेजिम म्याद बढाएर कात्तिक २९ गतेसम्म पुर्याइएको बिक्री प्रबन्धकको भनाई छ ।
एक्सेलले १०ः३ अनुपातमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । हकप्रद निष्कासनका लागि बैंकले असोज १ गतेबाट बुक क्लोज गरेको हो ।
यस अनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । यस हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै, आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ ।
बैंकले यहि पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।