एनएमबि बैङ्कलाई ‘दि बैंकर्स बैङ्क अफ दि इयर २०२०’ अवार्ड
काठमाडौं । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा “दि बैंकर्स बैंक अफ दिइयर २०२०”बाट सम्मानित गरिएको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेश्रौं पटक प्राप्त गरेको हो ।
बैंक अफ दिइयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्याङ्ककन गरिन्छ ।
‘विगत चार वर्षमा तेश्रौं पटक उक्त गरिमामयी उपाधिबाट सम्मानित गरिएकोमा हामी अन्यन्तै हर्षविभोर भएका छौं’ बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ–
‘विश्व समुदाय नै कोभिड १९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफदिइयर २०२० को सम्मान हाम्रा कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दीगो व्यवसाय विस्तारप्रतिको ऐक्यवद्घताका साथै यस बैंकको आदरणीय सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरुको अनवरत सहयोगको प्रतिफल हो ।’
एनएमबि बैंकले फरक मूलधारको बैंकमा स्थापना हुन गरेका रणनैतिक साझेदारी, उत्तरदायी निर्णय, कोभिड–१९ ले असर पारेको वित्त क्षेत्रमा ग्राहकहरुको वित्तीय अधिकार एवं निर्बाध सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न बैंकिङ्ग क्षेत्रमै उदाहरणीय डिजिटल प्लाटफर्ममाआधारित विभिन्न सेवाहरुको प्रारम्भ तथायस असहज परिस्थितिमा सामाजिक उत्थान एवं स्वास्थ्य सुरक्षाका लागि गरेको अनेकन योगदान तथा प्रयासहरु नै यस बैंकको सफलताका कारकहरु रहेको बैंकले जनाएको छ ।
बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्धि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ ।
एनएमबि बैंक ग्लोबल एलाएन्स फर बैकिङ अन भ्यालुज (जीएबीभी) को नेपालमा एक मात्रै “क” वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दीगो मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेको बैंकले जनाएको छ ।
जस कारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरशिप फर कार्वन अकाउन्टिङ फाइनान्सियलको स्टिअरिङ्ग कमिटिको सदस्य बैंकको रुपमा एबीएल एएमआरओ, मोर्गन एटेन्ली जस्ता संसारकै उत्कृष्ट बैंकहरुका साथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको छ ।
एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो जसको फलस्वरुप बैंक कठिन समयमा पनि मुलुकभित्र उल्लेख्य वैदेशिक लगानी भित्रयाउन सफल भएको छ । यस बैंकले नेपालमा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।


























