त्रैमासिक व्याज भुक्तानी भएको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६”चाँडै बजारमा आउँदै
आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” चाँडै बजारमा निष्काशन गर्ने भएको छ । त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश (१०) वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो ।
रु.२ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र रु.१,०००/– अंकित मूल्यका २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने र बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत (Private Placement) बाट बिक्री गरिने कुरा बैंकले जानकारी गराएको छ ।
ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निष्कासन तथा विक्री प्रवन्धमा यस बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा बार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले [ICRANP] LBBB+२०७६/०७/०७ मा प्रदान गरेको हो । उक्त क्रेडिट रेटिङ्ग प्राप्तगर्ने Instrument लाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्वन्धमा सुरक्षित मानिन्छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधि मैत्री योजनाहरु समेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक(नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।