७ सय ४५ स्थानिय तहमा पुगे वाणिज्य बैंकका शाखा

२०७६ फागुन ३ गते
काठमाडौं । वाणिज्य बैंकहरुले स्थानिय तहमा आफ्नो उपस्थिति बढाएका छन् । पछिल्लो समय राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शाखा विस्तार गर्न जोड दिएपछि उनीहरुले विभिन्न स्थानिय तहमा शाखा विस्तार गर्ने क्रम बढाएका हुन् ।
तर, अझैँ पनि देशको ७ सय ५३ वटा स्थानिय तहमध्ये ८ स्थानिय तहहरु बैंकका शाखा विहिन रहेका छन् । अर्थ मन्त्रालयले हालै जारी गरेको चालु आर्थिक वर्ष २०७६र०७७ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनका अनुसार कुल ७ सय ५३ स्थानिय तहमध्ये ७ सय ४५ स्थानिय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।
उच्च हिमाली तथा अति विकट करिब ८ स्थानीय तहमा शाखा पुर्याउन कठिन भएको जनाइएको छ । विद्युत्, सडक, इन्टरनेट लगायत पूर्वाधार अभाव, स्थानीय तहको केन्द्र कहाँ राख्ने विषयमा भएको विवाद लगायत कारणले ती ठाउँमा शाखा पुर्याउन समस्या भएकोबताइएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकले शाखा खोल्न बाँकी रहेको छ । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये १३५ स्थानीय तहमा बैंक पुगेका छन् ।
यस्तै, सङ्घीय राजधानी समेत रहेको वाग्मती प्रदेशमा कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानमा बैंकका शाखा पुगेका छन् ।
गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ मा बैंकका शाखा खुलेका छन् । प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । वित्तियरूपमा सो प्रदेशका सबै स्थानीय तहमा शाखा खुलेर पहुँच स्थापित भएको छ ।
कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सुदू्रपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८६मा वाणिज्य बैंकका शाखा खुलेका छन् ।
स्थानीय तहमा खोलिएका र खुुल्ने शाखाहरूको हकमा निक्षेप दायित्वका आधारमा अनिवार्य नगद मौज्दात एवं वैधानिक तरलता अनुुपात कायम गर्नुुनपर्ने गरी आगामी २ वर्षसम्म छुुट प्रदान गर्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ ।
तर, तोकिएको समयमा शाखा विस्तार नगर्ने बैंकलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही गरिने केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, सबै नेपालीको बैंक खाता खोल्ने अभियान अन्तर्गत चालु आवको ६ महिना सम्म १ लाख ५२ हजार थप बैंक खाता खोली ३ करोड ११ लाख बैंक खाता खुलिसकेको प्रतिवेदनमा उल्लेख छ ।