साउन महिनामा बैंकहरुले ९ अर्ब १७ कराेड मुनाफा आर्जन गरे
ग्लोबल आइएमई बैंक र नबिल बैंकबीच प्रतिस्पर्धा
काठमाडौं । मुलुकका “क” वर्गका २० वटा बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षकाे साउन महिनामा ९ अर्ब १७ कराेड ६१ लाख रुपैयाँ भन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनाको तथ्याङ्कले यस्तो देखिएको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा २० वटा बाणिज्य बैंकहरुले कुल ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ बढी खुद मुनाफा आर्जन गरेका छन । बढी मुनाफामा आर्जन गर्ने बैंकहरूमा ग्लोबल आइएमई बैंक लिमिटेड र नबिल बैंक लिमिटेड बीच प्रतिस्पर्धा देखिएको छ ।
यी दुवै बैंकले २०८३ साउन महिनामा ८० करोड बढी नाफा मुनाफा आर्जन गरेका छन् । साउन महिनामा सर्वाधिक मुनाफा ग्लोबल आइएमई बैंकले ८९ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।
यस्तै नबिल बैंकले पनि ८० करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । साउन महिनामा सर्वाधिक नाफा कमाउने बैंककाे तेस्रो सूचीमा कृषि विकास बैंक लिमिटेड रहेको छ । याे बैंकले साउन महिना ७१ करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
मुनाफाकै आधारमा चौंथो स्थानमा हिमालयन बैंक लिमिटेडले ५८ करोड ८० लाख रुपैयाँ,छैठौं सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ५७ करोड ७५ लाख रुपैयाँ, प्रभु बैंक लिमिटेडले ५३ करोड ८० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंक लिमिटेडले ५० करोड ५५ लाख रूपैयाँ, कुमारी बैंक लिमिटेडले ५० करोड ३५ लाख रूपैयाँ , लक्ष्मी सनराइज बैंकले ४३ करोड ३२ लाख रूपैयाँ , एनएमबि बैंकले ४२ करोड ७२ लाख रूपैयाँ र एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन ।
यसैगरि साउन महिनामा सानिमा बैंकले ३८ करोड २६ लाख रूपैयाँ , राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख रूपैयाँ , सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रूपैयाँ , सिटिजन्स इन्टरनेशनल बैंकले ३४ करोड २२ लाख रूपैयाँ, नेपाल एसबिआई बैंकले ३३ करोड ३३ लाख रूपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख रूपैयाँ , एनआइसी एशिया बैंकले २६ करोड ६३ लाख रूपैयाँ, नेपाल बैंक लिमिटेडले २२ करोड ३९ लाख रूपैयाँ र माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन ।























