एभरेष्ट बैंकले ५ अर्ब ७ करोड नाफा कमायाे
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिककाे वित्तीय विवरण साउन १९ गते प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकको नाफा, प्रतिशेयर आम्दानी सहित वितरणयोग्य मुनाफामा वृद्धि गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको खुद नाफा करिब ४ अर्ब ८४ करोड रुपैयाँबाट ४.७५ प्रतिशतले बृद्वि गरेर ५ अर्ब ७ करोड रुपैयाँ पुरयाएकाे छ । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १० करोड २३ लाख रुपैयाँबाट बढाएर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुरयाएको छ ।
यसैगरि बैंकको खुद फी तथा कमिशन आम्दानी १ अर्ब ५३ करोड ५ लाख रुपैयाँबाट बढाएर १ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी ११ अर्ब १७ करोड ६ लाख रुपैयाँबाट ६.२१ प्रतिशतले बृद्वि भएर ११ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा पनि बैंकको सञ्चालन मुनाफा लगभग यस्तै थियो । यद्यपि बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँबाट १२.९८ प्रतिशतले बृद्वि गरेर ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुराएको छ ।
गत आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३७.३९ रुपैयाँबाट ३६.९५ रुपैयाँमा झरेको देखिन्छ । खराब कर्जा (एनपीएल) ०.३८ प्रतिशतबाट ०.११ प्रतिशत बृद्वि भएर ०.४९ प्रतिशत कायम भएको छ। बैंकको आधार दर ५.३६ प्रतिशतबाट घटेर ४.२५ प्रतिशत कायम भएको छ ।
प्रतिशेयर नेटवर्थ २५६.४७ रुपैयाँ भएको छ । एभरेष्ट बैंककाे चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ।
यस बैंकको रिजर्भ कोषमा १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ सञ्चिति रहेको छ । कर्जा लगानी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबाट बढेर गत आर्थिक वर्षमा २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यस्तै निक्षेप संकलन २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट बृद्वि गरेर ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ पुरयाएको छ ।





















