बैङ्कका सिइओसँग अर्थमन्त्रीको छलफल: कर्जा माग नबढ्नुको कारण खोज्न आग्रह
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलाएर छलफल गरेका छन् । अर्थमन्त्री वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा बोलाएर सीईओहरुसँग छलफल गरेका हुन् ।
सीईओसँगको बैठक सामान्य औपचारिक छलफल नभई नेपालको अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरण रहेको अर्थमन्त्रीले बताए । मन्त्री वाग्लेले निजी उद्योगीहरूसँगको संवादपछि वित्तीय प्रणालीको नेतृत्व गरिरहेका सीईओसँग छलफल गरेका हुन् ।
उक्त छलफमा अर्थमन्त्री वाग्लेले भने, ‘वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्त्वपूर्ण संगम हुन्। यहाँ बचतकर्ता पनि आउँछन्, उद्यमी पनि आउँछन्, किसान पनि आउँछन्, उद्योगी पनि आउँछन्, लगानीकर्ता पनि आउँछन् र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा पनि आउँछन् । त्यसैले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नुहुन्छ ।’
बजेटमार्फत हामीले नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेको र अब सरकारको ध्यान कार्यान्वयनमा रहेको उनले बताए । बजेट कार्यान्वयनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सीईओहरुको अनुभव र सुझाव सुन्न बैठक राखेको अर्थमन्त्रीले बताए ।
‘सरकारका तर्फबाट हामी नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेका छौँ । तर एउटा प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ— के यी सुधारहरू पर्याप्त छन् ? अझ के गर्नुपर्छ ?’, बैठकमा सीइओहरुसंग अर्थमन्त्री वाग्लेले भने, ‘आज नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ ? व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन् ? ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन ? बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन सकेको छैन ? यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ, कि निजी क्षेत्रको आत्मविश्वासमा ?’
सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र नभएर साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध रहेको मन्त्री वाग्लेले बताए ।
लगानी विस्तार गर्ने, विश्वास निर्माण गर्ने, उत्पादन बढाउने र नेपाललाई उच्च वृद्धि तथा उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने योजना रहेकाले सीईओहरुलाइ पनि साथ दिन अर्थमन्त्रीलाई आग्रह गरे ।





















