stcnepal long ad
global ime bank long

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले बजार हिस्सा बढाउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले पछिल्ला पाँच वर्षमा व्यवसाय विस्तारसँगै निक्षेप, कर्जा प्रवाह र बजार हिस्सा बढाएको छ । चुनौतीपूर्ण आर्थिक अवस्थाबिच पनि वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र जिम्मेवार बैङ्किङ अभ्यासलाई प्राथमिकतामा राख्दै आफ्नो वित्तीय अवस्था थप मजबुत बनाएको बैङ्कले जनाएको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार चालु आर्थिक वर्षको हालसम्म बैङ्कको कुल निक्षेप छ खर्ब २६ अर्ब रुपियाँ पुगेको छ । जुन अघिल्लो आवमा पाँच खर्ब तीन अर्ब रुपियाँ रहेको थियो । एक वर्षको अवधिमा निक्षेप करिब एक खर्ब २३ अर्ब रुपियाँ अर्थात् झन्डै २४ प्रतिशतले बढेको हो । यससँगै बैङ्कको निक्षेपमा समग्र बैङ्किङ उद्योगभित्रको हिस्सा ७.५९ प्रतिशत पुगेको छ ।

यस्तै कर्जा प्रवाहतर्फ पनि बैङ्कले उल्लेख्य प्रगति गरेको छ । बैङ्कले चालु आवको चैत मसान्तसम्म बैङ्कले तीन खर्ब ३९ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको छ । आव २०७८/७९ मा बैङ्कको कर्जा बजार हिस्सा ४.८१ प्रतिशत रहेकामा चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा यो बढेर ५.७४ प्रतिशत पुगेको बैङ्कले जानकारी दिएको छ ।

बैङ्कका अनुसार समग्र अर्थतन्त्रमा कर्जाको माग अपेक्षाकृत कमजोर रहे पनि उद्योगको औसतभन्दा उच्च दरमा कर्जा विस्तार गर्न सफल भएको छ । बैङ्कको कर्जा वार्षिक रूपमा १३.२६ प्रतिशतले बढ्दा सोही अवधिमा वाणिज्य बैङ्कको औसत कर्जा वृद्धि ७.४३ प्रतिशत मात्र रहेको छ । वाणिज्य बैङ्कले कुल ५२ खर्ब ५१ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

वित्तीय सूचकमा पनि सुधार गरेको बैङ्कले चैत मसान्तसम्म प्रतिसेयर मूल्य ३५१ रुपियाँ ९८ पैसा पुगेको छ भने प्रतिसेयर आम्दानी २३ रुपियाँ ५५ पैसा कायम भएको छ । सोही अवधिमा बैङ्कले दुई अर्ब ७६ करोड रुपियाँ खुद नाफा कमाएको जनाएको छ ।

समग्र बैङ्किङ क्षेत्रको निष्क्रिय कर्जा ५.२५ प्रतिशत पुगेको अवस्थामा राष्ट्रिय वाणिज्य बैङ्कको निष्क्रिय कर्जा भने ४.४८ प्रतिशतमा सीमित रहेको बैङ्कले जनाएको छ । खराब कर्जा थप घटाउने लक्ष्यसहित व्यवस्थापनले रणनीतिक योजना कार्यान्वयन गरिरहेको बैङ्कले जनाएको छ ।

देशभरका ७७ जिल्लामा ३१६ शाखा कार्यालय र ३३४ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको बैङ्कले एक लाख ४७ हजारभन्दा बढी क्युआर मर्चेन्ट, २० लाख ६२ हजार मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा करिब ४८ लाख ७० हजार ग्राहकलाई बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

IME Lifesidebar
kumari