‘रिभल्भिङ फण्ड’सञ्चालनका लागि राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी
काठमाडौं । सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एण्ड सेमी अर्बन एरिया परियोजना अन्तर्गत ग्रामिण क्षेत्र र अर्ध(सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम प्रवर्द्धन गर्न जर्मन डेभलपमेन्ट बैंकको वित्तीय सहयोगमा स्थापना गरिएको ‘रिभल्भिङ फण्ड’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ।
समझदारी–पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कामु निर्देशक शिखा अधिकारी रेग्मी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका थिए ।
उक्त अवसरमा संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत, नेपाल राष्ट्र बैंकका गभर्नर तथा परियोजना र बैंक सम्बन्धित कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो।
२०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म आफ्नो पहुँच विस्तार गरेको छ।
बैंकसँग ३१३ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम र ९९ शाखारहित बैंकिङ्ग सेवा छन्, जसमार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
समझदारी अनुसार, रिभल्भिङ फण्डमार्फत ग्रामिण र अर्ध–सहरी क्षेत्रमा साना तथा मझौला उद्यमहरूलाई सहज वित्तीय पहुँच सुनिश्चित गरिने र आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।
























