राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एकैसाथ ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेललाई दिएका छन् । यो विभागलाई राष्ट्र बैंकको शक्तिशाली विभाग मानिन्छ ।
यस्तै, विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी किरण पण्डितलाई दिइएको छ । पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा थिए । नियमन विभागको नेतृत्व सम्हालेका गुरुप्रसाद पौडेललाई भने मानव संशाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
यसैगरी, विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवतीप्रसाद नेपाललाई हटाएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ । वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका सत्येन्द्र तिमल्सिनाको सरुवा भएको छ । मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।
मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नर कार्यालयमा सारिएको छ । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा कार्यरत रोशनकुमार सिग्देललाई बैंकिङ विभागमा र बैंकिङ विभागमा रहेका डा। डिल्लीराम पोखरेललाई मौद्रिक व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ । भर्खरै बढुवा भएर गभर्नर कार्यालयमा पदस्थापन भएका राजनविक्रम थापालाई भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।




























