एनएमबि बैंक र तीन संगठनबीच समझदारी
काठमाडौ । एनएमबि बैंक लिमिटेडले आन्तरिक उत्पादन तथा रोजगार सिर्जनालाई प्रवर्धन गर्ने उद्देश्य सहित विभिन्न उद्यमी संगठनहरुसँग साझेदारी गर्ने भएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच बैंकले नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो संघ नेपाल र नेपाल उद्यमशील महिला महासंघसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यी निकायका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरुमा साझेदारी स्थापना गर्ने उद्देश्य परिपूर्तिका लागि बैंकले समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
सो समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल हाते काजग उद्यमी संघका अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका अध्यक्ष बुद्धि पुर्जा मगर र नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका थिए ।
बैंकले परम्परागत बैंकिङ्ग भन्दा केही पृथक भएरको देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्नो स्रोत र साधनलाई परिचालन गरिरहेको जस्तै साना तथा मझौला कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशील विकास प्रवद्र्धन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिँदै आएको छ । यही प्रयासको निरन्तरता स्वरुप यी संगठनहरुसित समझदारी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।
बैंकका अध्यक्ष पवनकुमार गोल्याणले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैंकिङ र दिगो बैंकिङ सिद्धान्तमा उभिएको बताए ।