ऋण तिर्ने अवधि २ वर्षसम्म थप: माैद्रिक नीतिप्रति व्यवसायी सन्तुष्ट
काठमाडौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ल्याएको आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिले विशेष गरेर कोभिडबाट उत्पन्न संकटलाई नै प्राथमिकतामा राखेको छ ।
आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रममा कोरोना प्रभावित क्षेत्रहरुका लागि ऋण तिर्ने समयावधि थप्ने, सहुलियतमा ऋण प्रदान गर्नेलगायतका सुविधा दिने मौद्रिक नीतिले व्यवस्था गरेको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसा अधिकारीले समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिलमा सहयोग पुरयाउन मौद्रिक नीतिको जोड रहने बताए ।
उनले वित्तीय साधन परिचालनलाई आर्थिक क्रियाकलाप विस्तार, रोजगारी सिर्जना र दीगो आर्थिक विकास प्रवद्वर्न गर्नेतर्फ प्रोत्साहित गरिने बताए ।
यसैगरी मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा पर्न सक्ने दवाबलाई मध्यनजर गरी तरलता व्यवस्थापन गर्ने, वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थाहरुको एकीकरण र सुदृढीकरणमा जोड दिइने, वित्तीय पूर्वाधारको विकास मार्फत वित्तीय पहुँच र सेवाकोगुणस्तर अभिवृद्धि गरिने साथै भुक्तानी प्रणालीलाई सवल, सुदृढ र सुरक्षित बनाउँदै विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहित गरिने गरी मौद्रिक नीतिको तर्जुमा गरिएको उनले बताए ।
मौद्रिक नीतिले बैंकिङ क्षेत्रलाई पनि राम्रै प्राथमिकतामा राखेको छ । बैंकहरुलाई कृषिमा गर्नु पर्ने लगानी बढाउने व्यवस्थासमेत गरिएको छ । केही वर्षयता निकै चर्चाको विषय बनेको बिग मर्जरको विषयलाई पनि मौद्रिक नीतिले समेटेको छ ।
ऋण तिर्ने अवधि २ वर्षसम्म
उद्योगी–व्यवसायीहरु कोभिडको कारण देखाउँदै तत्कालै ऋण तिर्न नसक्ने बताउदै आएका थिए । केहि समय ऋण तिर्ने भाका पर सार्न आग्र गर्दै आएका उद्योगी–व्यवसायीहरुलाई मौद्रिक नीतिले राहत दिएको छ । अब कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप हुने भएको छ ।
कोरोना प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थप्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । कोभिड–१९ को कारण ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न/सञ्चालन हुन नसकेको अवस्थामा पर्यटकको लागि खोलिएका स्तरीय होटलको हकमा अधिकतम २ वर्ष, अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा एक वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र निम्नप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्था मिलाइने गभर्नर अधिकारीले जानकारी दिए ।
यसैगरी, २०७७ असार मसान्तसम्म असल हुन नसकेको लघुवित्त वित्तीय संस्थाबाट प्रवाहित कर्जाको किस्ता ऋणीको आवश्यकता र व्यवसाय सुरु हुन लाग्ने समय मूल्याङ्कन गरी बढीमा ६ महिनासम्म भाका सार्न सक्ने व्यवस्था मिलाइने अधिकारीले बताए ।
यसैगरी, निर्माणाधीन पूर्वाधार आयोजनामा प्रवाहित कर्जाको ग्रेस अवधिमा ब्याज पुँजीकरण गर्न राष्ट्र बैंकबाट पूर्व स्वीकृति पाइसकेको कर्जाको हकमा २०७७ पुस मसान्तसम्म पुँजीकरण गर्न सकिने व्यवस्था मिलाइने छ । २०७६ पुस मसान्तमा नियमित र असल वर्गमा रहेका कर्जालाई कोभिड(१९ को प्रभावको कारणले कमसल हुन नपरोस् भन्ने अभिप्रायले कर्जा वर्गीकरण सम्बन्धमा विशेष व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।
यस अन्तर्गत २०७६ पुस मसान्तमा असल वर्गमा रहेका कर्जालाई २०७७ असार मसान्तमा समेत असल वर्गमा नै वर्गीकरण गर्न सकिने छ । यसरी असल वर्गमा रहे तापनि २०७७ असार मसान्तसम्मको साँवा र ब्याज असुल हुन नसकेको अवस्थामा त्यस्ता कर्जाको लागि आर्थिक वर्ष २०७६/७७ को हिसाबमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ ।
किसानलाई क्रेडिट कार्ड
अब वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा थप लगानी बढाउनुपर्ने भएको छ । यस अघि कृषि क्षेत्रमा कुल कर्जाको कम्तिमा १० प्रतिशत लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था थियो ।
अधिकांश बैंकहरुले १० प्रतिशत पनि पुर्याउन नसकेको अवस्थामा राष्ट्र बैंकले यसलाई बढाएर १५ प्रतिशत बनाएको छ ।
यसैगरी अब किसानहरुलाई किसान क्रेडिट कार्डको समेत व्यवस्था गरिने भएको छ । कृषकलाई वित्तीय साधनको साथै कृषि सूचना तथा जानकारी उपलब्ध गराउन कृषि विकास बैंकमार्फत “किसान क्रेडिट कार्ड” को व्यवस्था गरिने गभर्नर अधिकारीले बताए ।
कृषि विकास बैंकका तालिम केन्द्रमार्फत कृषि तालिम विस्तार गर्न आवश्यक संस्थागत एवम् संरचनागत व्यवस्था मिलाइने उनले बताए ।
फलफुलमा आत्मनिर्भर हुन सहयोग पुर्याउने गरी व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिचि, एभोकाडो लगायतका फलफुल खेतीको लागि लिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत र दोस्रो वर्ष ०.६ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गरे पुग्ने व्यवस्था मिलाउने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ । यसैगरी रेशम, जुट, कपास लगायतका कृषि खेतीको विकास गरी उद्योगसँग अग्र सम्बन्ध र पृष्ठ सम्बन्ध स्थापित गर्ने कृषि उत्पादन अभिवृद्धि गर्नेतर्फ कर्जा प्रवाहलाई प्रोत्साहित गर्न कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाइने समेत उल्लेख छ ।
यसका लागि सरकारको बहुमत सेयर रहेको कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा विकास गरिने गभर्नर अधिकारीले बताए ।
कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन सो बैंकले कृषि ऋणपत्र जारी गर्नसक्ने व्यवस्था मिलाउने उनले बताए । यस व्यवस्थाले कृषि क्षेत्रमा थप वित्तीय साधन परिचालन हुनुका साथै बैंक तथा वित्तीय संस्थाहरुलाई कृषि ऋणपत्रमा लगानीमार्फत तोकिएको कृषि कर्जा अनुपात कायम गर्न सहज हुने उल्लेख गरिएको छ ।३ प्रतिशत ब्याजदरमा पुनर्कर्जा सुविधा दिने व्यवस्था पनि गरेकाे छ।





























