नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट २० अर्ब रुपैयाँ खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
आज बिहीबार माघ ४ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति माघ १८ गते निर्धारण भएको छ ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेकोमा ३७ अर्ब ७० करोडको आवेदन परेको थियो । तर, राष्ट्र बैंकले उक्त निक्षेपको लागि अधिकतम ३.२९९९ प्रतिशत र न्यूनतम २.८९४४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
त्योबाट कटअफ ब्याजदर ३.०९८८ प्रतिशत ब्याजदर कायम गर्दै २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको हो । कटअफको लागि निर्धारण भएको मूल्यभन्दा बढी वा कम ब्याजदर प्रस्ताव आएमा निक्षेप नखिच्ने केन्द्रीय बैंकले जनाएको छ ।