सेन्चुरी कमर्सियल बैंकले ३% अन्तरिम लाभांश दिने
आर्थिक सञ्जाल
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले लगानीकर्तालाई ३% अन्तरिम नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई ३% लाभांश दिन लागेको हो । बैंकले कोरोनाका कारण वार्षिक साधारण सभा स्थगित भएपछि सञ्चालक समितिको निर्णयबाट यस्तो लाभांश दिन लागेको हो । अब बैंकले ३% अर्थात् २५ करोड २४ लाख ६४ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।
यसैबाट लाभांशमा लाग्ने कर कट्टी गरेर लागानीकर्तालाई २३ करोड ९८ लाख ४० हजार रुपैयाँ वितरण गरिनेछ । यो लाभांश २०७६ फागुन ३० गतेसम्म कायम सेयरधनीले पाउनेछन् ।
यसअघि बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २% बोनस सेयर र कर प्रयोजन समेत गरी ४.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर यो प्रस्तावित लाभांश पारित गर्न बैंकले चैत १४ गते साधारण सभा बोलाएको थियो ।
यही बेला कोरोना संक्रमण फैलिएकाले सभा स्थगित गरिएको थियो । सोही कारण बैंकले अन्तरिम लाभांश भन्दै सेयरधनीलाई मुनाफा बाँड्न लागेको हो । बाँकी रहेको नगद लाभांश र बोनस सेयर भने अब बस्ने साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने बैंकले जानकारी गराएको छ ।






















