नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, सोमबार बोलकबोल
बैंकले ९१ दिन, १८२ र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
असोज ३० गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको उक्त बिला नवीकरण गर्न लागेको हो ।
यो बिल माघ २ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ५ अर्ब र १ वर्षका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।
यी ट्रेजरी बिल क्रमशः २०८१ वैशाख ४ र २०८१ असोज २९ गते परिपक्व हुनेछन् । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।