सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर कात्तिक १ गतेसम्म पुर्याइएको हो ।
काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र बिक्री नभएपछि म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर कात्तिक १ गतेसम्म पुर्याइएको हो ।
यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।
बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो ।
यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।
यसबाट ५% अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । सिटिजन्सले १० वर्ष अवधिको ‘१०% सिटिजन्स डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम बिक्री खुला भएको सबै इकाईसम्म आवेदन दिन सकिनेछ ।
यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।























