भारतमा ईभी बिक्रीले बनायो नयाँ रेकर्ड, ४२ दिनमै ५ लाख युनिट नाघ्यो
काठमाडौं ।भारतमा यस वर्षको चाडपर्व सिजनमा विद्युतीय सवारीसाधन (ईभी) को बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ । अक्टोबर ११ देखि नोभेम्बर २१ सम्मको ४२ दिनमा ५ लाख ९ हजार ६६७ युनिट ईभी बिक्री भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२.६२ प्रतिशत बढी हो ।
फेडरेसन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (फाडा) का अनुसार यस अवधिमा भारतमा कुल ५५ लाख २५ हजार ४९० युनिट सवारीसाधन बिक्री भएका छन् । यो अघिल्लो वर्षको तुलनामा २.२१ प्रतिशत बढी हो ।
ईभी बिक्रीमध्ये दुईपाङ्ग्रे सवारीसाधनको हिस्सा सबैभन्दा ठूलो रहेको छ । यस अवधिमा ३ लाख ३० हजार ८४६ युनिट इलेक्ट्रिक दुईपाङ्ग्रे बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६१.१० प्रतिशत बढी हो ।
त्यस्तै, इलेक्ट्रिक तीनपाङ्ग्रे १ लाख २० हजार ३३० युनिट बिक्री भएका छन् । यो अघिल्लो वर्षको तुलनामा २५.४५ प्रतिशत बढी हो ।
इलेक्ट्रिक प्यासेन्जर कारको बिक्री ७२.९१ प्रतिशतले बढेर ५२ हजार १०४ युनिट पुगेको छ । इलेक्ट्रिक कमर्सियल भेहिकलको बिक्री पनि १५४.५६ प्रतिशतले बढेर ६ हजार ३८७ युनिट पुगेको छ ।
समग्र सवारीसाधन बिक्रीतर्फ दुईपाङ्ग्रे ४३ लाख १३ हजार २७६ युनिट बिक्री भएका छन् । तर, प्यासेन्जर कारको बिक्री भने ७.१६ प्रतिशतले घटेर ७ लाख ४८ हजार ६१६ युनिटमा सीमित भएको छ । फाडाका अनुसार यस अवधिमा बिक्री भएका प्रत्येक १० सवारीसाधनमध्ये करिब एउटा ईभी रहेको छ ।




























