सीएएलबी ब्याट्रीमा गम्भीर खराबी, जीएसी एवोनका २ लाख बढी ईभी जोखिममा
काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) उत्पादन क्षेत्रमा एउटा ठूलो गुणस्तरसम्बन्धी संकट देखा परेको छ । चीनको प्रसिद्ध अटो निर्माता जीएसीको एवोन एस सिरिजका गाडीमा ब्याट्रीका कारण व्यापक खराबी देखिएपछि सवारीधनीहरू गम्भीर सुरक्षा चिन्तामा परेका छन् ।
सवारी चालकका अनुसार गाडी चलाइरहेको अवस्थामा एक्कासी पावर फेल हुने, ब्याट्री सुन्निने, इलेक्ट्रोलाइट चुहावट हुने र सेल नै फुट्ने जस्ता गम्भीर समस्याहरू देखिएका छन् । जीएसी एवोनका करिव २ लाख ईभीमा यस्तो समस्या देखिन सक्ने कम्पनीले जनाएको छ ।
चीनको सरकारी सञ्चारमाध्यम ’सिन्ह्वा न्युज एजेन्सी’ ले यस विषयमा विस्तृत अनुसन्धान प्रकाशित गरेपछि जनदबाब अत्यधिक बढेको थियो । बढ्दो दबाबका बिच जीएसी एवोन र ब्याट्री निर्माता सीएएलबीले संयुक्त रूपमा माफी माग्दै समस्या समाधानका राहत योजनाहरू सार्वजनिक गरेका छन्।
जीएसी एवोनले प्रभावित सवारी साधनका लागिराहत प्याकेज घोषणा गरेको छ । जसअनुसार, ब्याट्रीको वारेन्टी अवधि बढाएर ८ वर्ष वा ३,००,००० किलोमिटर पु-याइएको छ । प्रभावित ब्याट्रीको निःशुल्क जाँच, मर्मत तथा आवश्यक परेमा प्रतिस्थापन गरिदिने कम्पनी भनाई छ ।
त्यसैगरी, मर्मतका लागि ५ दिनभन्दा बढी समय लाग्ने गाडीका धनीहरूलाई कम्पनीले दैनिक आर्थिक सहयोग उपलब्ध गराउने उल्लख गरिएको छ । ब्याट्री आपूर्तिकर्ता सीएलबीले पनि आफ्ना प्राविधिकमार्फत निःशुल्क जाँच र मर्मतसम्भार सेवा दिने प्रतिबद्धता जनाएको छ ।
उत्पादन प्रक्रियामै प्रणालीगत त्रुटि रहेको विज्ञहरूको दाबी
अटोमोबाइल क्षेत्रका विज्ञहरूले यी घटनाहरूलाई छिटपुट वा संयोग मात्र मान्न नसकिने बताएका छन् । विश्लेषकहरूका अनुसार यो समस्या उत्पादन प्रक्रियामै रहेको प्रणालीगत त्रुटिको परिणाम हो ।
उनीहरुले यसो हुनुको पछाडी, इलेक्ट्रोलाइट प्रणालीको गलत वा त्रुटिपूर्ण डिजाइन, ब्याट्री एसेम्बलीमा गुणस्तर र शुद्धताको कमी, ब्याट्रीको आयु तथा स्थायित्व मापन गर्ने ‘एजिङ टेस्ट’को कडा प्रमाणीकरण नहुनु जस्ता कमजोरीलई औल्यांएका छन् ।
सीएएलबी विश्वकै चौथो ठूलो ब्याट्री निर्माता कम्पनी हो । ६.३ प्रतिशत बजार हिस्स ओगटेको यो कम्पनी गोसन हाई–टेकसंग बराबरीको स्थानमा छ । गुणस्तरमा देखिएको यो संकटले कम्पनीको साख र वित्तिय स्थिति दवैमा गम्भीर असर पर्ने देखिन्छ ।
























